• Views
  • FROM MY SIDE

    Voice Of The Voiceless


    Monday, October 3, 2011

    कार्यवाहक प्रमले भने–’युरोप र अमेरिकातिर भूकम्प सरोस्’

    -अशोक दाहाल-


    मुलुकको कार्यकारी प्रमुखको भनाईले कति महत्व राख्छ भन्ने कुरा तिनका पछि लागेका सञ्चारकर्मीहरुले नै पुष्टि गरिरहेका छन्। अनि तिनले बोलेका साना कुराले अन्तर्राष्ट्रिय क्षेत्रसम्म छाउने सनसनीले पनि पटक-पटक प्रमाणित गरेका छन्। तर कार्यकारी प्रमुखको के बोल्ने र के नबोल्ने भन्नेमा त्यति ध्यान दिन सकिरहेका छैनन्। प्रसङ्ग भूकम्पलगायतका दैवीप्रकोपको क्षति न्यूनिकरणका लागि सरकारी तयारीबारे व्यवस्थापिका–संसद्को मंगलबार राज्यव्यवस्था समितिमा कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीको दोहोरो हैसियतमा जवाफ दिन पुगेका गृहमन्त्री विजयकुमार गच्छदारको हो।


    सभासद्हरुले आइतबार गएको भूकम्पबाट पीडितहरुको उद्धार र राहतको सरकारी तयारी लगायतबारे गम्भीर प्रश्नहरु राखेका थिए। ‘तपाईँहरु भन्नुहुन्छ कि नेपाल सरकारले रोक्ने, चीन, भारत अमेरिकाले रोक्न सक्दैन भने हामी नेपाल कति सानो देश छ कसरी रोक्ने’ गृहमन्त्री समेत रहेका गच्छदारको उत्तर नै ठट्यौलो शैलीबाट सुरु भयो। गच्छदारको यो भनाई सुनेका सभासद्हरु हाँस्दै कानेखुशी गर्दै थिए, त्यत्तिकैमा गच्छदारले पुनः हँसाईहाले। ‘तपाईँहरुले म पहिले भागें भन्नुभयो तर म पहिला भागेको थिइनँ, म त प्रधानमन्त्रीसँगै बाहिरिएको हो’ उनले थपे–’तर म पनि तर्सेकै हो, गृहमन्त्री हुँदाहुँदै पनि तर्सेकै हो।’ गृहमन्त्रीको जवाफमा अधिकांश सभासद्हरु गलल्ल हाँसे।

    तर सबैको हाँसो एकैछिनमा मेटियो जब गच्छदारले यसो पनि भने–’पशुपतिनाथसँग यो कामना गरौं कि, यो भुकम्प सरेर युरोप अमेरिकातिर जाओस्।’ एक सभासद्ले उनको भनाई सच्याउँदै बीचैमा भने–’त्यसो होइन कतै पनि नजाओस्’ तर गच्छदारले सच्याएनन् भने–’अन्त कतै सरोस्।’

    गच्छदारको यस्तो जवाफपछि धेरै सभासद्हरु मन्त्रीको जवाफप्रति असन्तुष्ट बनेका थिए। तर गच्छदारले गल्तीको श्रृङ्खला फेरि पनि दोहोर्‍याए। उनले भूकम्पका कारण काठमाडौंमा तीन, सुनसरीमा दुई, र धनकुटामा एक गरी ६ जनाको मृत्यु भएको जानकारी समितिलाई गराए। जबकि भूकम्पका कारण १० जनाको ज्यान गइसकेको समाचार सरकारी अधिकारीहरुलाई नै उदृत गर्दै मंगलबारका अधिकांश छापामाध्यममा आइसकेको छ। उनले दिएका थप विवरणहरु पनि अपूर्ण नै थिए। उनले घाइतेको संख्या २३, सामान्य घाइतेको ८२, मुलुकभर १८८ घर लडेको र २१६ घरमा आंशिक क्षति पुगेको जानकारी दिए। त्यसअघि पनि गृहमन्त्री गच्छदारले ‘विपद’ भन्ने शब्दको उच्चाहरण दर्जनौं पटक ‘बिषद्’ भन्दै उच्चारण गरेका थिए। सभासद् सुदर्शन बरालले आफ्नो बोल्ने पालो आएपछि गच्छदारलाई भनिहाले–’माननीय मन्त्रीज्यूको रिपोर्टमा बिषद् नै लेखिएको हो कि उच्चारण गलत भएको हो, हेर्नुपर्‍यो मन्त्रीज्यू।’

    बैठकपछि समितिका एक सदस्यले मुलुकको कार्यकारी प्रमुख जस्तो ब्यक्तिले युरोप र अमेरिकामा भुकम्पको कामना गरेर ठूलो गल्ती गरेको बताए। उनले भने–’उहाँले यो यसबारे माफी माग्नु नै उचित हुन्छ।’कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीको दोहोरो हैसियतमा गच्छदारले दिएको जवाफ समिति सभापति रामनाथ ढकाललाई पनि चित्त बुझेन। सबैको भावना समेट्दै उनले भने–’हामीहरु सबै सभासद्लाई के लागेको छ भने मन्त्रीज्यूको यो जवाफ पर्याप्त छैन, त्यसैले हामीले सरकारलाई यस बिषयमा पनि केही निर्देशनहरु दिएका छौं।’
    कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका गृहमन्त्री विजयकुमार गच्छदारले मिडिया पूर्वाग्रही भएको बताएका छन्। आफूले राम्रो गर्न खोज्दा पनि मिडियाले खेदेको आरोप लगाएका छन्। भूकम्प युरोप अमेरिकातिर सरोस् भनेर उनले बोलेको भनी मिडियामा आएको कुरा पनि कतै गलत त हैन, मिडियाले उनको बोलीको अर्कै अर्थ त लगाएको हैन ? यो शंका लाग्नु स्वभाविक छ। त्यसो भए आउनुस् गच्छदार कै मुखबाट सुनौँ, उनले खास के बोलेका रहेछन्।

    http://www.youtube.com/watch?v=EBJg58j51Ds&feature=player_embedded&noredirect=1



    Published @ mysansar, on September 21st, 2011

    रित्तै फर्किए राउटे

    अशोक दाहाल

    प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेटौंला र दशैं खर्च मागेर रमाइलो गरी दशैं मनाउँला भन्ने सपना बुन्दै सल्यानबाट राजधानी आएका राउटेहरु रित्तो हात फर्किएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्न प्रयास गरे पनि भेट्न नपाएपछि राउटेहरु दुःख मान्दै आइतबार सल्यान फर्किए । प्रधानमन्त्रीलाई भेटेर आपुूहरुले बनाएका काठका भाँडा दिउँला र सरकारले दिने भत्ता महिनैपिच्छे दिने व्यवस्था मिलाउन भनौंला भन्ने राउटेहरुको योजना यो वर्ष भने अधुरै रह्यो ।


    विगतका वर्षहरुजस्तै प्रधानमन्त्रीलाई भेटेर गुनासो राख्न पाइने आशामा उनीहरुले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईका लागि उपहारस्वरुप काठका भाँडा समेत दिने योजना बनाएका थिए । तर प्रधानमन्त्री भट्टराईले भेट नदिएपछि राउटेहरु प्रधानमन्त्रीलाई दिन ल्याएको भाँडा आपैँुसँग लिएर आइतबार गाउँ फर्किए । जंगलमा बस्ने र शिकार गरेर खाने राउटेहरुसँग भएको एउटा मात्र सीप काठका भाँडाकुँडा बनाउने हो । तर उनीहरुले परम्परागत रुपमा काट्दै आएका टुनी सिमल जस्ता काठहरुको अभाव एकातिर छ भने अर्कोतिर उनीहरुले उत्पादन गरेका सामानको बजार छैन । राउटेहरुले यस्ता सामाग्रीको नियमित बजार र सरकारले दिँदै आएको भत्ता बढाएर तीन हजार प्रतिमहिना बनाउन प्रधानमन्त्रीसँग माग राख्ने योजना बनाएका थिए । प्रधानमन्त्रीले आपुूहरुसँग भेट नदिएपछि उनीहरु विभिन्न संघ-संस्थाको पहलमा बाटो खर्च जुटाएर फर्किन बाध्य भए । यसअघिका प्रधानमन्त्रीहरुले आपुूहरुलाई खर्च दिने गरेपनि अहिलेको सरकारका प्रधानमन्त्रीलाई भेट्न नपाउँदा मन रुवाएर फर्किन लागेको गुनासो राउटेका मुखिया ऐनबहादुर शाहीको छ । प्रधानमन्त्रीलाई भेटाइदिन पटकपटक प्रयास गरेपनि सहयोगीहरुबाट रुखो जवाफ मात्र पाएको बताउँछिन् राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारी । प्रधानमन्त्रीलाई भेट्न नपाए पनि राउटेहरुले एबीसी टेलिभिजनमार्फत प्रधानमन्त्रीसँग कुरा पुर् याइदिन आग्रह गर्दै यस्तो सन्देश छाडेर गएका छन् । काठमाडौं आएदेखि नै आपुूहरुले पेटभरि खान नपाएको गुनासो छ राउटेहरुको । सरकारसँग दशैं खर्च मागेर पेटभरि खाने योजना यो वर्ष अधुरै रहेपनि उनीहरुले अर्को वर्ष पनि काठमाडौं आउने योजना बुनेका छन् । रित्तो हात घर फर्कन लागेका राउटेहरुलाई आइतबार राजधानीको गोंगबुमा रहेको म्याग्दी वचत तथा ऋण सहकारी नेपाल छन्त्याल समाज र धवलागिरी विल्डस्र प्रालि मिलेर ४५ हजार सहयोग उपलब्ध गराइदिए । निराश भएर फर्कन लागेका राउटेहरु निजी क्षेत्रबाट पाएको सहयोगबाट केही समयका लागि भए पनि खुशी भए । तर सरकारले दिगो आम्दानी वा जीविकोपार्जनको व्यवस्था नगरेसम्म उनीहरुको मुहारमा खुशी छाउने छैन ।